ललितपुर । विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विषयमा नीतिगत तहबाट पहल गर्ने उद्देश्यले पहिलो पटक आयोजित सम्मेलन शुक्रबार ललितपुरमा सम्पन्न भएको छ।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन अन्तर्गत रहेको ‘स्कुल काउन्सिल एण्ड साइकोलोजिकल वेलविइङ सपोर्ट सेन्टर’को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।
उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले यस प्रकारको सम्मेलनले बालबालिकालाई सकारात्मक दिशातर्फ लैजान सहयोग पुग्ने बताइन्। उनले कार्यक्रमलाई समयसापेक्ष र शिक्षा क्षेत्रका लागि उपयोगी भनेकी छन्।
काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्यूत वाग्लेले विद्यार्थीहरूका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै विश्वविद्यालय सबै पक्षसँग सहकार्य गर्न तत्पर रहेको जनाए।
“दीगो खुसीको लागि स्वरूपान्तरण” नारासहित सम्पन्न कार्यशालाका संयोजक उपप्राध्यापक श्रीकृष्ण वाग्लेले लगनशील प्राज्ञिकहरूको योगदानले कार्यक्रम सफल भएको जानकारी दिए।
कार्यक्रम संयोजन समितिका सदस्य उपप्राध्यापक चेतनाथ पन्तका अनुसार सम्मेलनमा प्रकाशित आठवटा जर्नल लेखबारे छलफल गरिएको थियो। कार्यक्रममा करिब २०० अनुसन्धानकर्ता, विभिन्न विद्यालयका प्रिन्सिपल र विद्यार्थीको सहभागिता थियो।
सम्मेलनमार्फत विद्यालय मनोविमर्श, मानसिक, सामाजिक र भावनात्मक आरोग्यता सम्बन्धी बहसको सुरूवात भएको संयोजन समितिका सदस्य माधव खतिवडाले जनाए। कार्यक्रममा स्कुल काउन्सलर एसोसिएसन नेपाल गठनको प्रस्ताव पनि प्रस्तुत गरिएको थियो, जसलाई थप छलफल गर्दै अघि बढाउने सहमति गरिएको छ।
स्कुल अफ एजुकेशन अन्तर्गत हाल स्कुल काउन्सिलिङ तथा साइकोलोजिकल वेलविइङ विषयमा १ वर्षे र २ वर्षे एमए, एमफिल तथा पिएचडी कार्यक्रम सञ्चालनमा छन्। सेन्टरले पहिलोपटक जर्नल प्रकाशनको तयारीसमेत गरेको छ।