रोजगार दशक सुरु गर्ने श्रममन्त्रीको खुलासा

Sharadsingh Bhandari

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति बिना मुलुकको विकास सम्भव नभएको बताएका छन्।

ललितपुरमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘सरकारी तथा गैरसरकारी निकाय/संस्थाहरूसँगको अन्तरक्रिया गोष्ठी’मा मन्तव्य दिँदै मन्त्री भण्डारीले आन्तरिक रोजगार दशक सुरु गर्ने तयारी गरिरहेको पनि जानकारी दिए।

“अब बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गरी सूचना प्रविधि लगायतका क्षेत्रमा आन्तरिक रोजगारी सृजना गर्नुपर्ने आवश्यकता छ,” उनले भने, “सरकारले दिने जागिर मात्र रोजगारी हो भन्ने सोच त्याग्नुपर्छ। निजी क्षेत्रले सिर्जना गर्ने रोजगारी पनि उत्तिकै महत्त्वपूर्ण छन्।”

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्केका युवाको सीपको सदुपयोग गर्दै आन्तरिक श्रम बजार सशक्त बनाउन मन्त्रालयले पहल गरिरहेको छ। यसै सन्दर्भमा मन्त्रालयभित्र आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको उल्लेख गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्तिको अभाव औँल्याउँदै केवल प्रमाणपत्रका लागि तालिम नदिई आवश्यकतालाई ध्यान दिएर तालिम दिनुपर्ने बताए।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले रोजगार क्षेत्रको अर्थतन्त्रलाई सन्तुलित दिशा दिने प्रयासमा मन्त्रालय सफल भइरहेको बताए। उनले प्रतिष्ठानले बजारको माग अनुसार तालिम सञ्चालन गर्दै नीति निर्माणमा समेत सहयोग गरिरहेको जानकारी दिए।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले सीपयुक्त जनशक्तिले मुलुकभित्रै रोजगारी सिर्जना गर्न सक्ने सम्भावना बढाएको धारणा राखे।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले श्रम मन्त्रालयसँग सहकार्य गर्दै दक्ष जनशक्ति निर्माणमा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए।

पाँच वर्षे रणनीतिक योजना प्रस्तुत गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम विज्ञ डा. रामहरि लामिछानेले ६६ वर्षको इतिहास बोकेको प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्ने क्षमतामा विश्वास व्यक्त गरे। वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई समेत लक्षित गरी तालिम सञ्चालन गर्न सकिने बताए।

कार्यकारी निर्देशक रमेशकुमार बखतीले आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले रोजगारदाताको मागअनुसार पाठ्यक्रम निर्माण गरी तालिम दिइने योजना रहेको जानकारी दिए।

कार्यक्रममा सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।