काठमाडौं, असार १ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सरकारको कुल राजस्व संकलन १० खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो।
अर्थ मन्त्रालयका अनुसार २०८२ असार १ गतेसम्म संकलन भएको राजस्व अघिल्लो वर्ष सोही अवधीको ९ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि भए पनि यो चालू वर्षको लक्ष्यअनुसार भने अपेक्षाकृत कम हो।
सरकारको चालू वर्षको जेठ मसान्तसम्मको राजस्व संकलन लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ तोकिएकोमा हालसम्म ८३.२२ प्रतिशत मात्र संकलन भएको छ।
मन्त्रालयका अनुसार गत जेठ महिनामा मात्र ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको जेठ महिनाको ८५ अर्ब ११ करोड रुपैयाँभन्दा ८ अर्ब ९१ करोड रुपैयाँले बढी हो।
राजस्व सचिव दिनेशकुमार घिमिरेले हालको राजस्व वृद्धिलाई सकारात्मक संकेतका रूपमा लिँदै भने, “राजस्व संकलनमा अघिल्ला महिनाको तुलनामा सुधार देखिएको छ। तर लक्ष्यअनुसार पुग्न अझै निकै मेहनत गर्नुपर्ने अवस्था छ।”
आर्थिक गतिविधिमा विस्तार, कर प्रशासनको दक्षता, र करदाताको स्वेच्छिक सहभागिता बढाउन अझ सशक्त पहल आवश्यक भएको उनको भनाइ छ ।
सचिव घिमिरेले कर चुहावट रोकथाम र विद्यमान नीति र कानुनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
सरकारले करदातालाई आकर्षक सुविधा दिएको दावी गर्दै राजश्व सचिव घिमिरेले असारमा अझ बढी कर उठ्ने अपेक्षा गरे ।

चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल राजस्व संकलन लक्ष्य १४ खर्ब ८ अर्ब रुपैयाँ छ ।