प्रदेश सांसदका उम्मेदवारसहित महासचिवकै क्षेत्रबाट ८६ नेताकार्यकर्ताले त्यागे एमाले

दाङ । पार्टीभित्र असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास बढ्दै गएपछि सत्तारूढ दल नेकपा एमालेको महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र, दाङ–२ बाट एकैसाथ ८६ जनाले पार्टी परित्याग गरेका छन्।

पार्टी छाड्नेहरूमध्ये अघिल्लो निर्वाचनमा दाङ–२(२) बाट उम्मेदवारी दिएका गिरिराज केसी पनि छन्, जो कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेसँग थोरैमात्र मतले पराजित भएका थिए।

पार्टीको पूर्व प्रदेश कमिटी सदस्य समेत रहेका केसीसँगै घोराही–८ का गणेश लम्साल, तुलसीपुर–७ का पिताम्बर आचार्य, दंगीशरण–५ का दुश्यत चौधरी, तुलसीपुर–३ का कलिभान रोका लगायत ८६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै एमालेबाट आफ्नो राजनीतिक सम्बन्ध तोडेका हुन्।

विज्ञप्तिमा भनिएको छ— पार्टी सत्तामा रहँदा समेत नेताहरू ठूला–ठूला भ्रष्टाचारका प्रकरणमा मुछिनु, जनताको हितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित रहनु, र सरकारमै रहँदा सडकमा उत्रिनु जस्ता दोहोरो चरित्र देखाउनु नै पार्टी परित्यागको मुख्य कारण हो।

उनीहरूले यो अवस्थालाई “आफैँ धामी, आफैँ बोक्सी हुने” अभ्यासको संज्ञा दिएका छन्।

पार्टीभित्र सुधारको अपेक्षा राख्दै लामो समय समर्पित कार्यकर्ताहरूको यस्तो सामूहिक बहिर्गमन एमालेका लागि गम्भीर सन्देश मानिएको छ।