न्यूजकारखाना, काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ ।
विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एक जनाको जीवित उद्धार भएको पुष्टि गरिएको छ।
दुर्घटनापछि विमान नजिकैको मेडिकल कलेजको होस्टेलमा खसेको थियो, जसमा थप २४ जनाको मृत्यु भएको छ । सोहीकारण मृतक संख्या २६५ पुगेको हो ।
घटनाबारे थप जानकारी दिँदै स्थानिय अधिकारीले भने, ‘सिभिल अस्पतालमा आएका सबै शव नराम्ररी जलेका छन्, पहिचान गर्न निकै गाह्रो छ, मानिसको शवलाई विभिन्न टुक्रामा बाँडिएको छ । कोही जलेका छन् त कोही काटिएका छन् । यी शव थपिएपछि संख्या २६५ पुगेको छ ।”
उनले थपे, ‘दुर्घटना हुँदा विमानस्थल नजिकै रहेको मेडिकल कलेजको होस्टेलमा खाजा खाने समय थियो र अधिकांश यात्रुहरु मेसमा थिए ।
त्यही क्रममा यो विमान होस्टेलको संरचनामा खसेको थियो, जसका कारण धेरै चिकित्सकको पनि भग्नावशेषमा दबिएर मृत्यु भएको थियो ।
सो इलाका डीसीपीले २६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । तर, यसको आधिकारिक घोषणा भने भइसकेको छैन।
भारतीय गृहमन्त्री अमित शाहले डिएनए टेस्ट पछि शव पहिचान हुने र आधिकारिक तथ्य सार्वजनिक गर्ने जनाएका छन् ।