प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु प्रथम दृष्टिमै प्रतिशोधपूर्ण देखिएको निष्कर्ष निकालेको छ ।
शुक्रबार बानेश्वरस्थित संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए ।
बैठकमा माओवादी केन्द्रबाट प्रचण्डसहित वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे तथा शेरबहादुर कुँवर र आम जनता पार्टीका अध्यक्ष प्रभु साह सहभागी रहेका थिए।
माधवकुमार नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई गैरकानुनी रूपमा हदबन्दी छुटमा जग्गा दिने, र उक्त जग्गा तत्काल बिक्री गर्न अनुमति दिने निर्णयमार्फत आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सो मुद्दामा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ ।
बशुक्रवार बसेको बैठकले भिजिट भिसा ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने समेत निर्णय लिएको बताइएको छ ।