पुनको प्रष्टोक्ति : प्रचण्डपछिको नेतृत्व बहस निरर्थक, पार्टी टिमले चल्ने टिप्पणी

भक्तपुर,५ जेठ  । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वपछि पार्टी कसरी अघि बढ्छ भन्ने बहसलाई अनावश्यक र निरर्थक बताएका छन्।

सोमबार भक्तपुरको नयाँ थिमिमा आयोजित पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग,नेपाल (वाइसीएल) बागमती प्रदेश अधिवेशनलाई  उद्घाटन गर्दै पुनले नेतृत्व हस्तान्तरणबारे पार्टीले पहिले नै विधि बनाइसकेको स्पष्ट पारे।

उनका अनुसार, प्रचण्डकै प्रस्तावमा माओवादी केन्द्रले अघिल्लो महाधिवेशनबाट नेतृत्वको श्रृंखला तय गर्ने जनवादी विधि अघि सारेको हो। अहिले पार्टीका विभिन्न तह तथा जनवर्गीय संगठनहरूमा सो अभ्यास प्रारम्भ भइसकेको उनले उल्लेख गरे।

पुनले पार्टीको नेतृत्व व्यक्तिमा केन्द्रित नभई सामूहिक टिमको आधारमा अघि बढ्ने बताए। “कमरेड प्रचण्डपछिको नेतृत्वबारे प्रश्न उठाइन्छ, तर हामी भन्छौं पार्टी रहन्छ र चल्छ। अध्यक्षजस्तो प्रभावशाली व्यक्तित्व नहोला तर विधिबाट टिमको बीचबाट नेतृत्व चयन हुन्छ,” पुनले स्पष्ट पारे।

उनले प्रचण्डलाई इतिहास र आकस्मिक आवश्यकताबाट उदाएका नेता भन्दै, जनयुद्धदेखि शान्ति प्रक्रिया र समाजवादको आधार निर्माणसम्मको मार्गमा उनले निभाएको भूमिकालाई स्मरण गरे। “देशभर अहिले पनि प्रचण्डप्रति जनताको आकर्षण बढ्दो छ,” उनले दाबी गरे।

पुनले प्रचण्डको नेतृत्व अझ केही समयसम्म बलियो र सम्मानित ढंगले अघि बढ्नुपर्नेमा पार्टीभित्र कुनै मतभेद नरहेको समेत जनाए।

फरक प्रसंगमा उनले हालको कांग्रेस–एमाले गठबन्धन सरकारलाई ‘बिचौलिया र स्वार्थ समूहको उत्पादन’ भन्दै आलोचना गरे।

“हामीले संसदबाटै भनेर आएका थियौं—यो सरकार बिचौलियाको हो। सुरुमा त्यो कुरा हटाइएका नेता/पार्टीको पीडाबाट आएको भन्न्थे। तर आज गाउँ–गाउँका जनता, गृहिणीहरुसम्मले समेत यही भनिरहेका छन्,” पूर्व अर्थमन्त्री समेत रहेका पुनले भने , “हाम्रो भनाइभन्दा त अझ तीव्र रूपमा जनताको निराशा प्रकट भइरहेको छ।”

सो अवसरमा पार्टीका बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्म, काठमाडौ जिल्ला इन्चार्ज सूर्य सुवेदी, त्यसैगरी पार्टीका केन्द्रीय सदस्य डिपी ढकाल लगायतले समसामयिक राजनीति र वाइसीएलको भूमिका माथि प्रशिक्षण दिदैँ अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा भर्खरै महालेखा परीक्षकको प्रतिवेदनमा शुन्य बेरुजु हुने एकमात्र पालिका बन्न सफल महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बा लगायत जनपक्षीय काम गरेका पार्टी सम्बद्ध विभिन्न जनप्रतिनिधि र नेताहरूलाई  सम्मान समेत गरिएको केन्द्रीय सचिव दिनेश थपलिया आक्रोशले जानकारी दिए ।

अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधि सहभागी छन् । थिमि बैंक्वेटमा सोमबार शुरु अधिवेशन दुई दिनसम्म चल्ने बताइएको छ ।