नाष्टलाई प्रधानमन्त्रीको निर्देशन-परिणाममुखी काममा केन्द्रित हुनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन बुझाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई अध्यक्ष डा. खगराज बरालले सोमबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले वैज्ञानिकहरूलाई प्रोत्साहन हुने, मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अनुसन्धान र परिणाममुखी काममा केन्द्रित हुन प्रतिष्ठानलाई निर्देशन दिएका उनका प्रेस संयोजक प्रकाश सिलवालले बताएका छन् ।

सो अवसरमा लोक सेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा. रविन्द्रप्रसाद ढकाललगायतको समेत उपस्थिति रहेको थियो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट, NAST) नेपाल सरकारअन्तर्गतको एक प्रमुख वैज्ञानिक संस्था हो। २०३० सालमा (१९७४ मा) स्थापित यस सस्थाको मुख्य उद्देश्य नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तन (innovation) को प्रवर्द्धन, अनुसन्धान र विकास गर्नु रहेको अध्यक्ष डा बरालले बताए ।