बालकोटमा महायज्ञ : शुरुकै दिन उठ्यो १६ लाख, श्रीरामले दिए १० लाख बढी दान

नवराज काफ्ले, भक्तपुर । बालकुमारी मन्दिर तथा फल्चा निर्माणको उद्देश्यले सूर्यविनायक-२ बालकोटमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिनमै १६ लाख रुपैयाँ सहयोग संकलन भएको छ। उक्त सहयोगमा समाजसेवी श्रीराम श्रेष्ठले एक्लै १० लाख ५० हजार ५ सय ५५ रुपैयाँ योगदान गरेका छन्।

अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्य महाराज प्रमुख कथाबाचक रहेको सप्ताह वैशाख २६ गतेसम्म जारी रहने आयोजकको भनाइ छ।

महायज्ञको उद्घाटन समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नगरको कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा कुनै कमी नहुने प्रतिवद्धता जनाउँदै मन्दिर निर्माणमा आवश्यक थप सहयोग नगरपालिकाबाट प्रदान गरिने घोषणा गरे ।

कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराई, पूर्व मन्त्री टंक ढकाल,पूर्व उपप्रमुखद्वय जुना बस्नेत र अञ्जना देवी मधिकर्मी, वडा नं. २ का अध्यक्ष प्रदीप कार्की, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजुका साथै ‘सधैँ सबैका लागि अभियान’की अध्यक्ष शुसिला गुराँगाई लगायतको विशेष उपस्थिति रहेको निर्माण उपभोक्ता समितिका सचिव केदारप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बालकुमारी मन्दिर तथा फल्चा निर्माणका लागि कूल लागत ३ करोड ५८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए।