पहिलोपटक ललितकला मेला, बैशाख ६ सम्म चल्ने

काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु भएको छ । नववर्ष र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको अवसर पारेर मंगलबारवाट मेला शुरु भएको हो ।

मेला उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने र समाजलाई सही बाटामा लाग्न उत्प्रेरित गर्ने बताए ।

कला क्षेत्रका परम्परागत ज्ञान, सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले यो नै पछिका लागि इतिहास बन्ने धारणा राखेका थिए।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको मेलाले नेपाली कला क्षेत्रलाई थप चलायनमान बनाउने बिश्वास ब्यक्त गरे । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले ठुलो कामको सुरुवात स–साना प्रयासबाटै हुने भन्दै कलाकार र कला अनुरागीलाई मेलाले उर्जा मिलेको बताइन् ।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको जानकारी गराए । 

ललितकला मेला
ललितकला मेला

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘देवेन्द्र थुम्केली’ले मेलाका माध्यमबाट विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनसन्धाता, कलाकृति तथा कला वस्तुहरूसँगै सर्जकहरूसमेतलाई एकै थलोमा भेला गराई स्थलगत रूपमा ललितकलाको प्रवर्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने मेलाको उदेश्य रहेको उल्लेख गरे ।

मेलाले नेपाली ललितकलाको विकासमा टेवा पुर्याउने दावी गर्दै सदस्य सचिव थुम्केलीले मेलामा ४५ भन्दा बढी स्टल रहेका समेत जानकारी गराए ।

मेला वैशाख ६ गतेसम्म चल्ने बताइएको छ ।

ललितकला मेला
ललितकला मेला

तस्वीर : प्रकाश मगर