‘ललितकला राष्ट्रको धरोहर हो’ — राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा नेपालभरिका विविध कलाकृति अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले ललितकलालाई “राष्ट्रिय धरोहर”को रूपमा सम्बोधन गरेका छन्।

आइतबार प्रदर्शनी भ्रमणका क्रममा उनले सातै प्रदेशका ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छनोट भएका उत्कृष्ट कलाकृति हेर्ने अवसर पाएको बताए। उनका अनुसार नेपाल कलामा कति धनी छ भन्ने यो एक स्पष्ट प्रमाण हो। “सिङ्गो नेपालको कला, प्रतिभा र सृजनात्मक क्षमता यही प्रदर्शनीमा देख्न सकिन्छ।” उनले भने ।

उनले कलालाई पर्यटनसँग जोड्न सके देशको आर्थिक, सामाजिक विकासमा ठुलो फड्को आउन सक्ने धारणा व्यक्त गरे। “हामीसँग कला छ, संस्कृति छ — समस्या व्यवस्थापनको हो।” उनले भने, “यस्ता प्रदर्शनीहरू कला, संस्कृति, पर्यटन र रोजगारी सिर्जनासम्मको संयोजन गर्न सक्षम छन्,”

उनले गत वर्षको तुलनामा यस वर्षको प्रदर्शनी अझ व्यवस्थित र विकसित देखिएको भन्दै प्रसन्नता पनि व्यक्त गरे।

‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा देशका ६५ जिल्लाबाट छनोट भएका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरिएको सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए ।

प्रदर्शनीमा लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक कला, फोटोग्राफी, डिजिटल आर्ट, कार्टुन, बहुआयामिक कला लगायतका विधा प्रस्तुत गरिएका उनले जनाएका छन् ।

थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँत लगायत विभिन्न समुदायका कला र पहिचान विशेष आकर्षण बनेका छन्।

जेठ ३० गतेसम्म चल्ने प्रदर्शनी नेपाली कलाको विविधता र मौलिकता अनुभव गर्ने अनुपम अवसर बनेको देखिन्छ ।