सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक पर्व विस्का: जात्रा शुरु

राजेशमान मानन्धर, भक्तपुर । सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) बिहीबारबाट शुरु भएको छ ।

नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा भनिन थालिएको हो । नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालीमा बिस्का जात्रा मनाउने किंवदन्ती रहेको छ।

तःमारी (टौमढी)स्थित नागपताकासहितको ल्योसिं (लिङ्गो)उठाउदै ८ रात ९ दिन सम्म मनाइने बिस्केट जात्रा भैरवनाथको रथ तानातान गर्दै शुरुवात गरिएको छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई ङातापोला अर्थात् पाँचतल्ले मन्दिर प्राङ्गणबाट रथ तान्न थालेपछि यो वर्षको जात्रा शुरु भएको हो ।

ल्योसिं (लिङ्गो) उभ्याइने र ढाल्ने नै विस्केट जात्राको प्राचिन प्रचलन मानिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी ८ रात ९ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवी कालदेखि सुरू भएको मानिने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा वर्तमान समयमा पनि भव्यरूपमा मनाइन्छ ।

 

जात्रा हेर्न भक्तपुरमा उपत्यका र आसपासबाट समेत मानिसहरु भक्तपुर आइपुग्ने गर्दछन । बिहीबार बिहानै देखि भक्तपुरका बासिन्दाले ल्योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्ने गरेका थिए । दिउँसोबाट भैरवनाथको रथ तानातान शुरु भएको छ । यो संगै जात्रा शुरु भएको हो ।

बिस्का जात्रामा टोलटोल बाट देवीदेवताको खट ल्याउने प्रचलन छ । टोलटोलमा मनाउने विभिन्न देवी देवताहरुको जात्रा हेर्दा मानिसले मात्र नभई देवी देवताहरुले समेत भैरव र भद्रकालीप्रति सम्मान व्यक्त गरेको अर्थ राख्ने इतिहासविद प्राडा पुरुषाेत्तमलोचल श्रेष्ठ बताउँछन् ।

जात्रालाई दुर्घटनारहित बनाउनु चुनौतीपूर्ण

बिस्का जात्रामा दुर्घटना प्राय दुई प्रकारले हुने गर्दछ ।

पहिलो कारण रथ तानातान गर्ने दुई टोलका समूहबीच बिबाद भई झडपको अवस्था सिर्जना हुने सोहीकारण मानिसहरु घाइते हुने र ज्यानै पनि जाने खतरा रहन्छ ।

दोश्रो रथ भाचिएर जात्रालुलाई किच्दा मानिसहरु घाइते हुने र ज्यान जाने खतरा रहन्छ ।

दुर्घटनारहित बिस्काको लागि सबैको सामुहिक पहल पहिलो सर्त हो । गत वर्ष दुर्घटना रहित बिस्का भएकोले यो वर्ष पनि त्यो अपेक्षा गर्न सकिन्छ ।

नगरपालिकाद्वारा सद्भाव र्याली सम्पन्न
जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन मंगलवार बिहान सद्भाव र्याली समेत सम्पन्न गरिएको छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा गरिएको र्यालीमा आपसी भाइचारा र मेलमिलापलाई महत्वका साथ अघि सारिएको छ । जात्राको समयमा उच्छृंखल गतिविधि हुन नदिन सचेतना जगाउने उदेश्यले सद्भाव र्याली गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

प्रमुख प्रजापतिका अनुसार जात्रा व्यवस्थापन समितिलाई सहयोग गर्न जनप्रतिनिधि सम्मिलित जात्रा सहयोग समिति समेत बनाइएको छ । जात्रालाई मर्यादित,सभ्य र भब्यरुपमा मनाउन नगरपालिकाले आवश्यक तयारी गरेको उनले जिकिर गरेका छन् ।

ब्यापक सुरक्षाकर्मी तैनाथ
जात्रामा शान्ति सुरक्षा कायम गर्न १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको भक्तपुरका सिडिओ गोपालप्रसाद अर्यालले जनाएका छन् ।

ठाउँठाउँमा सिसि क्यामेरा राखेर निगरानी गरिएको र उच्छृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिईने बताउदै प्रहरी प्रमुख रहेका एसपी माधवप्रसाद बुढाथोकीले उच्छृंखल गतिविधि गर्नेलाई जात्रापछि पनि कारवाहीको दायरामा ल्याइने दावी गरे ।

मानव अधिकार संगठनको अनुगमन
नेपाल मानव अधिकार संगठन भक्तपुरले जात्राको दैनिक अनुगमन गर्ने अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । यसको ब्यवस्थापनलाई ब्यवस्थित गर्न सबैलाई जिम्मेवार बनाउन अनुगमनले मद्दत गर्ने अध्यक्ष मानन्धरले बिश्वास ब्यक्त गरे ।