एकता गर्नै चाहेको भए पदको लोभमा नलाग्न एमाले नेताको आग्रह

भक्तपुर, १८ पुस । एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पद भन्दा पनि कम्युनिस्टहरुका बीच साँच्चिकै एकता चाहेको भए पद नखोज्न आग्रह गरेका छन् । पार्टी एकीकरणभन्दा पद महत्वपूर्ण नभएको स्पष्ट पार्दै पदलाई बार्गेनिङको आधार बनाउन नहुने उनको जोड छ ।

भक्तपुरमा रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकीकरणमा ढिलाई गर्न नहुनेमा जोड दिए । पार्टीको एकता नहुँदै अध्यक्ष तोक्न नहुने बताउँदै उनले एकीकरणपछि अध्यक्ष तोक्ने विषयमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का बीच सहमती भइसकेको बताए । यसबारेमा दुवै पार्टीका अध्यक्ष तयार रहेको पनि उनको भनाइ थियो । एकता नहुँदै पद खोज्ने, बार्गेनिङ गर्ने र त्यसलाई ठूलो बनाउने कुरा सही नभएको पनि उनको भनाई थियो ।

देउवा नेतृत्वको सरकारले जाँदा जाँदै गरेका बिभिन्न खालका नियुत्ति सरुवा बढुवा गलत भएको भन्दै जनादेशको पालना गरी तत्कालै सरकार छाडेर नयाँ सरकारका लागि सहज वातावरण श्रृजना गर्नु पर्नेमा उनले जोड दिए ।

उनले कानुनबिदहरुले चर्चा गरे जस्तो नयाँ सरकार गठनमा राष्ट्रियसभाको निर्वाचनले कुनै अवरोध नगर्ने बताउँदै बिभिन्न बहानबाजी गरेर वर्तमान सरकाले आफ्नो सत्ताको आयु लम्बाउनु गलत भएको बताए ।

अबको सरकारको लागि सबैभन्दा ठूलो चुनौती भनेको देशको आर्थिक समृद्धि भएको भन्दै उनले सरकारले स्पष्ट खाका सहित कार्यान्वयनतर्फ जान नसके त्यसले नेपालीमा ठूलो निराशा पैदा गर्ने र यसले बाम गठबन्धलाई समेत घात पु¥याउने बताए ।

Loading...