नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कोषाध्यक्ष संजीप शुभचिन्तकद्वारा पदभार ग्रहण

काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ ले अनामनगरस्थित महासंघ कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले यसअघि कोषाध्यक्षको जिम्मेवारी नवनिर्वाचित टोलीसँग सामूहिक रुपमा ७ पुसमा लिन नसके पनि मंगलवार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्।

पद हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले कोष हस्तान्तरण गरेका थिए। कार्यक्रममा घिमिरेले कोषाध्यक्षको भूमिका केवल लेखा राख्ने मात्र नभई कोष वृद्धिमा केन्द्रित रहने बताए। साथै, उनले पत्रकार कल्याणकारी कोषलाई प्रभावकारी बनाउन र मतदाताको विश्वासलाई कायम राख्न आफ्नो प्रयास रहने प्रतिबद्धता व्यक्त गरे।

घिमिरे, जो भक्तपुर पोस्टका सम्पादक समेत हुन्, यसअघि महासंघ जिल्ला शाखा भक्तपुरको सचिवका रुपमा क्रियाशील थिए। कार्यक्रममा प्रदेश समितिका अध्यक्ष टेनिस रोका र केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पनि घिमिरेलाई प्रदेशको कोष वृद्धि र पत्रकार कल्याणका योजनामा पूर्ण साथ रहने आश्वासन दिएका थिए।