किरण आचार्यको पौराणिक उपन्यास’अहिल्या’ लोकार्पित 

 उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’को आज २०८१ साउन २६ गते बिहान एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ।

साहित्यिक पत्रकार सङ्घद्वारा आयोजना गरिएको कार्यक्रम अनामनगरस्थित डालो रेष्टुरेण्टमा सम्पन्न भएको हो।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्रा.डा.जयराज अवस्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, समालोचकत्रय प्रा.डा.गोविन्दमानसिंह कार्की, प्रमोद प्रधान तथा ज्ञानु अधिकारी लगायत स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, लेखक तथा पत्रकार राजकुमार बानियाँ तथा शिखा बुक्स प्रा.लि.का अध्यक्ष पुष्पराज पौडेल समेतको उपस्थिति रहेको थियो।

मञ्चमा आसीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा नवीनतम् उपन्यास अहिल्याको लोकार्पण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका अनुसन्धान विभागका सदस्य जयराज अवस्थीले नेपालगञ्ज जस्तो ठाउँमा बसेर यस्ता कृतिहरू आउनु खुसीको कुरा भएको बताए।

उनले पौराणिक कथामा आधारित उपन्यासहरू लेखेर स्थापित भइसकेको अवस्थामा अब सामाजिक विषयवस्तुमा केन्द्रित कृति लेख्न लेखकलाई अनुरोध गरे। सभापतिका आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले उपन्यासकार किरण आचार्यको पौराणिक उपन्यासहरूका बारेमा सङ्क्षेपमा प्रकाश पारेका थिए।

उनले ‘जरत्कारू’ र’ परशुराम’जस्ता पौराणिक उपन्यास लेखेर प्रसिध्दि पाइसकेकी लेखिकाले अब सीता, सुपर्णखा र दुर्गाका बारेमा समेत लेख्न आग्रह गरेका थिए। समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले किरण आचार्य पौराणिक विषयवस्तुमा आधारित उपन्यास लेखनमा स्थापित नाम भैसकेको बताए ।

अर्का समालोचक  ज्ञानु अधिकारीले कतिपय कृतिका सन्दर्भमा लेखकले भन्न चाहेको र पाठकले पढ्न चाहेको कुरा फरक हुने बताइन् । कार्यक्रममा समालोचक प्रमोद प्रधानले लेखकले उपन्यासका लागि विषयवस्तु र पात्रको चयन गर्दा आफ्नो विशिष्टता देखाएको धारणा राखे । कार्यक्रममा प्रकाशक शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए।

उपन्यास लेखक किरण आचार्यले आफ्नो लेखकीय मन्तव्यमा इच्छा जागेपछि मान्छेले जे पनि गर्न सक्छ भनेर बताइन्।साथै, उनले कसैलाई खसाल्नु छ भने स्त्री जातिलाई प्रयोग गर्ने गरेको पौराणिक इतिहास रहेको कुरा औँल्याउँदै देवराज इन्द्रले अहिल्यामाथि गरेको यौन शोषणका कारण गौतम ऋषिले कुरै नबुझी अहिल्यालाई सराप दिएको र ढुङ्गा बन्नु परेको कथा सुनाएकी थिइन्। 

उपन्यास अहिल्याका सम्पादक समेत रहेका लेखक तथा पत्रकार राजकुमार बानियाँले किरण आचार्यका अन्य अरू कृतिहरू पनि आफूले सम्पादन गर्ने मौका पाएको र उनका पौराणिक उपन्यासहरू ज्यादै राम्रो हुने गरेको बताए। शुरूमा पाण्डुलिपिमा अहिल्या नाम नभई गौतम अहिल्या भएको प्रसङ्ग उठाउँदै उनले पुस्तकको नाम अहिल्या राख्न सुझाएको बताए।

अहल्या नाम हुनुपर्नेमा चलनचल्तीमा यो नभएकोले असहज महसुस गरी अहिल्या नाम जुराएको बताउँदै उनले संस्कृतमा अहिल्याको भावार्थ ‘सृष्टिको सबैभन्दा सुन्दरी’ रहेको बताए। 

उपन्यासकार किरण आचार्यको यो नवौँ कृति हो भने यसअघि  उनका दुई थान उपन्यास जरत्कारू र परशुराम अनि एउटा कवितासङ्ग्रह ‘अनुभूति’, एउटा मुक्तकसङ्ग्रह ‘अस्तित्व’, एउटा कथासङ्ग्रह ‘क्यान्टोनमेण्ट’, एउटा लघुकथा सङ्ग्रह ‘सृष्टिचक्र’ र एउटा ‘हाम्रा देवदेवी धन र यथार्थ’ गद्यलेखसङ्ग्रह र एउटा थारू जातिका लोककथा थारू भाषामै लेखिएको कथासङ्ग्रह प्रकाशनमा आइसकेको छ ।

कार्यक्रममा अमेरिकाबाट आएका साहित्यकार तारा निरौलालाई स्वागत सम्मान समेत गरिएको थियो भने कार्यक्रममा कलाकार नरहरि प्रेमीले इन्द्र र अहिल्याको बारेमा मीठो गीत गाएर रमाइलो वातावरण सृजना गरेका थिए।

कार्यक्रममा सापसका महासचिव डा. दामोदर पुडासैनी ‘किशोर’ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन यादव भट्टराईले गरेका थिए। कार्यक्रममा सर्जकहरु मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, विमल भौकाजी,  दिव्य गिरी, रुद्र अधिकारी, श्रीबाबु कार्की, सुभाषचन्द्र पौडेल, राजेश खनाल, प्राज्ञ हंसावती कुर्मी, कल्पना खरेल, मदुसूदन पाण्डे, कृष्ण के. सी., प्रा. जनार्दन आचार्य, लता के . सी., मनीशकुमार शर्मा, मीठु श्रेष्ठ, ममता कार्की, गजेन्द्रमान पति, देवेन्द्र सहकारी, विक्रम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।