बङ्गलादेशकी प्रधानमन्त्रीले छोडिन् देश, निवासमा लुटपाट

न्यूजकारखाना । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।

बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’तर्फ लागेकी छन् ।

मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनले आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।

आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।

बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू समेत लगेका छन् ।

स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किदै गरेको देख्न सकिन्छ ।

बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए, उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो । पछि उनले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए । उनले देशमा अब अन्तरिम सरकार गठन हुने समेत बताएका छन् । उनले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिएका छन् ।