चक्रपाणि खुला कथा प्रतियोगिताका लागि इमेलमार्फत कथा माग

साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले चक्रपाणी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१ घोषणा गर्दै कथा आह्वान गरेको हो ।

प्रतियोगिताबाट छानिने प्रथम द्वितीय र तृतीय स्थानमा पर्ने कथाका लागि क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्रको ब्यवस्था गरिएको आयोजक चक्रपाणि स्मारक प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषले बताएका छन् । चुनिएका २० कथाको पुस्तक पनि प्रकाशित गरिने उनले जानकारी गराए ।

कथा नेपाली भाषामा लेखिएको अप्रकाशित हुनुपर्ने र अन्य भाषामा लेखिएका कथालाई नेपालीमा अनुवाद गरी पठाउन पर्ने सर्त राखिएको छ ।

कथा प्रतियोगितामा भाग लिने कथा कम्तीमा १ हजार ५ सय शब्द र बढीमा ५ हजार शब्दसम्मको हुनुपर्ने बताइएको छ । प्रतियोगितामा सहभागिताका लागि कथा यही भदौ २० गते भित्र प्राप्त भैसक्नुपर्ने आयोजकको भनाइ छ ।

प्रतियोगीले कथासँगै आफ्नो पूरा परिचय, सम्पर्क, मोबाइल नम्बर र हालसालै खिचिएको फोटो ‘चक्रपाणि’ स्मारक प्रतिष्ठानको इमेल मार्फत पठाउनुपर्ने प्रष्ट पारिएको छ ।

कथा पठाउनका लागि इमेल [email protected] उपलब्ध गराइएको छ । थप जानकारीका लागि मोबाइल नम्बर  ९८४१३५८१३४ मा अध्यक्ष राममणि ढुङ्गेल र ९८५१११४५७५ मा सदस्य सचिव रामगोपाल आशुतोषसंग सम्पर्क गर्न सकिने बताइएको छ ।