मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध बनाएर दुई आर्थिक महाशक्ति छिमेकीबाट नेपालले लाभ लिनुपर्ने विज्ञको जोड

काठमाडौं । नेपालले सन्तुलित पराष्ट्र नीतिमा अडिग रहेर छिमेकी देशको आर्थिक विकासबाट कुशलतापूर्वक लाभ लिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले नेपालले सबै छिमेकी देश तथा मित्रराष्ट्रहरुलाई आफ्नो सन्तुलित र तटस्थ नीतिका बारेमा प्रष्ट पारेर विकसित देशहरुबाट भरपूर लाभ लिनुपर्नेमा जोड दिए । चाईना मिडिया ग्रुपको आयोजना तथा नेपाल चीन युवा मैत्री संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टको सहआयोजनामा काठमाडौंमा आयोजना गरिएको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व राजदुत पौड्यालले खासगरी चीन र भारत विश्वका दुई ठूला उदाउदा आर्थिक शक्तिहरु छिमेकी हुनु नेपालका लागि निकै ठूलो अवसर भएको बताए । तर, नेपालले एक छिमेकीका विरुद्ध अर्को छिमेकी वा कुनै पनि एक मित्रराष्ट्रका विरुद्ध अर्को मित्र राष्ट्र प्रयोग हुने स्थितिबाट प्रष्टताका साथ बच्नुपर्नेमा उनको जोड छ । ” विश्वलाई हामी सबैसँग समान सम्बन्ध राख्छौ भनेर प्रष्टसँग भन्नुपर्ने र नेपालको हितसँग जोडिएका कुरा छन् भने मात्र सहकार्य गर्नुपर्छ ।” उनले भने ।

पछिल्लो समय चीनले गरेको आर्थिक विकास विश्वलाई नै प्रभाव पार्ने बताउँदै चीनमा हुने स्थिरता वा अस्थिरताले नेपालमा पनि असर गर्ने उनको । पौडेलले नेपाल र चीनबीचको सम्वन्धलाई फलदायी बनाउन राजनीतिक र उच्च तहमा चीनप्रतिको बुझाईमा एकरुपता कायम हनुपर्नेमा जोड दिएका छन् ।

१४ औं चिनियाँ राष्ट्रिय जनकाँग्रेस तथा चिनियाँ जनराजनैतिक परामर्शदातृ सम्मेलनको सन्दर्भमा “चीनको आर्थिक विकास र छिमेकी देशहरुका लागि नयाँ अवसर” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रसियाका लागि पूर्व नेपाली राजदुत तथा वरिष्ठ लेखक हिरण्यलाल श्रेष्ठले नेपाल दुई ठूला आर्थिक महाशक्ति छिमेकी देशबाट लाभ लिन नसक्नुमा दुःख व्यक्त गरेका छन् । उनले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताउँदै चीनसँगको सहकार्यबाट नेपाल ल्याण्डलक कन्ट्री नभई ल्याण्ड लिंक कन्ट्री भएको बताए । कुटनीतिज्ञ श्रेष्ठले छिमेकी चीनले हासिल गरेका उपलब्धिहरुबाट फाईदा लिएर नेपालको विकास र सम्वृद्धिलाई अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपालस्थित चिनियाँ राजदूतावासका डि.सी.एम. वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको जानकारी दिए । विभिन्न तथ्यहरु प्रस्तुत गर्दै उनले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रलाई सुधार गर्नका लागि ४२ प्रतिशत योगदान गरेको दाबी समेत गरे ।

कार्यक्रममा बोल्दै नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग प्राचिन कालदेखि नै नेपालको व्यापार व्यवसाय चलिरहेको भएपनि चीनसँग व्यापारीक कारोवार गर्दा भुक्तानी र भिसाको समस्या रहेको जानकारी दिए ।

चीन अध्ययन केन्द्रका सचिव तथा रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले चीनको उदाउँदो अर्थतन्त्र विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा स्थापीत भैसकेको अवस्थामा नेपाल लगायतका छिमेकी देशहरुले चीनको विकासबाट फाईदा लिन सक्ने नयाँ अवसर सृजना भएको जिकिर गरे ।

चाइना मिडिया ग्रूप, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षाले चीनमा यही मार्च ४ र ५ तारिखदेखि सुरु भएका चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन वारे जानकारी गराइन । उनले यी अधिवेशनहरुमा चीनको समृद्धि र विकाससँग नेपाल लगायतका छिमेकी देशहरुको समेत विकास र समृद्धिका लागि आवश्यक नीति निर्माण हुने भएकोले दुवै अधिवेशनबारे नेपाली जनताका विचार सुन्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उल्लेख गरेकी छन् ।

निर्यात व्यवसायी महासंघका अध्यक्ष शङ्कर पाण्डेले चीनको आर्थिक विकासबाट नेपालले प्रशस्त फाईदा लिनसक्ने सम्भावना भएको बताउदै नेपाल र चीन बीच व्यापार चलिरहेको भए पनि भुक्तानी प्रणालीमा धेरै समस्या रहेको सुनाए । उनले व्यापारीक कारोवारका लागि भुक्तानी प्रक्रियालाई सहज बनाउनु पर्नेमा जोड दिए।

त्यसैगरी कार्यक्रममा बोल्दै हब्स एण्ड हर्बल प्रडक्स् एशोसिएशन नेपालका अध्यक्ष प्रेमराज तिवारीले नेपालको जडिबुटी चीनमा गइरहे पनि अझै धेरै समस्याहरु रहेको गुनासो गरे । उनले नेपालबाट धेरै जडिबुटी चीनमा जाने गरेको भए पनि वैधानिक रुपमा थोरै देखिने गरेको र नेपालले भ्यालु एड गरेर निर्यात गर्न नसकेकोमा दुःख व्यक्त गरे । नेपाली व्यापारीहरुले सिधै चीन लगेर जडिबुटी बेच्न सक्ने अवस्था अझै नरहेको र ठमेलमा रहेका केही चिनियाँ व्यापारीमार्फत मात्रै नेपाली जडिबुटी चीन जाने गरेको उनले जानकारी दिए । यसलाई समाधान गर्न सकेमा नेपालले जडिबुटी क्षेत्रबाट निकै ठूलो लाभ लिनसक्ने उनको भनाई छ ।

नेपाल चीन युवा मैत्री संघका अध्यक्ष बिष्णु सापकोटा जुगलको अध्यक्षता एवं फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका अध्यक्ष रमेश हतुवालीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, प्रोफेसर डाक्टर बालमुकुन्द रेग्मी, नेपाल चाईना फ्रेण्डसिप फोरमका अध्यक्ष डाक्टर कल्याण राज शर्मा, रमेश हतुवाली, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने लगायतको समेत आतिथ्यता रहेको थियो ।

Loading...