अब सांसदहरुको विद्युतीय हाजिरी गरिने, हाजिरी विवरण वेवसाइटमा सार्वजनिक गरिने

काठमाडौं । अब सांसदहरुको विद्युतीय हाजिरी गरिने भएको छ । साथै उपस्थिति सहित संसदका सबै विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी भएको छ । संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अब सबै सांसदहरुको बिद्युतीय हाजिरी राख्ने तयारी भएको जानकारी दिएका हुन् । सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि सभामुखले बताएका छन् ।

सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्मको क्यालेण्डर स्वीकृत समेत गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदको बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको छ ।

स्वीकृत क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ ।

सभामुख देवराज घिमिरेले संसदको यसै अधिवेशनबाट कार्यतालिका लागू हुने बताएका छन् । उनले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताए ।

 

Loading...