नेपालको कालापानीमा आध्यत्मिक भ्रमणमा पुगेका भारतीय प्रम मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्रमा भ्रमणमा पुगेका छन् । भारतीय प्रम मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसहितका अन्य भारतीय नेताहरु पनि कालापानी क्षेत्रमा पुगेको बताइएको छ ।

स्रोतका अनुसार मोदी पिथौरागढ क्षेत्रका केही परियोजनाहरुको शिलान्यास गर्नका लागि उत्तराखण्ड आएको र सोही क्रममा उनी कालापानी क्षेत्रमा पर्ने आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न नेपालको भूमिमा पुगेका हुन । उनी हेलिकोप्टर चढेर कालापानी क्षेत्रमा पुगेको बताइएको छ ।
कालापानी क्षेत्रको भ्रमणका बारेमा मोदीले सामाजिक सञ्जाल एक्समा आफ्नो यो भ्रमण आध्यत्मिक महत्वको भएको उल्लेख गरेका छन् । उनले एक्समा आफूले पिथौरागढमा परियोजनाहरुको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग सम्वाद गर्ने उल्लेख गरेका छन् । उनको यो भ्रमणका क्रममा उत्तराखण्ड सरकारले पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय गरेको बताइएको छ ।

कालापानी नेपालमा पर्दछ । २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका गाउँहरु नेपाली भूभागमा समेटिएको छ । तर, भारतले पनि यो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमणका बारेमा औपचारिक रुपमा कुनै जानकारी नआएको बताएकी छन् । औपचारिक रुपमा जानकारी नआएको तर अनौपचारिक रुपमा हल्ला चलेपछि दार्चुला जिल्ला प्रशासन कार्यालयबाट सीमा पारीको भारतीय अधिकारीसँग जानकारी मागेको सिडियो जोशीको भनाई छ ।

Loading...