विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणका लागि गरिएका राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्तो बताउनुभएको हो । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको, पानीका मूलहरू सुक्दै गईरहेको र नदी तथा प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको उहाँको भनाई छ । यस्ता समस्याको समाधानमा हाम्रो चासो रहनुपर्ने उहाँले बताउनुभयो ।

शत प्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको पनि शुभकाना सन्देशमा उल्लेख गरिएको छ। साथै वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुपर्ने पनि सो सन्देशमा भनिएको छ।

साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिनेछ भन्ने विश्वास लिएको समेत राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्तो बताउनुभएको हो । यस्ता समस्या समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा सक्रिय भूमिका खेल्नुपर्ने उहाँले बताउनुभएको छ ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सिमान्तकृत समुदाय बढी मात्रामा प्रभावित भइरहेको विश्व वातावरण दिवसको अवसरमा जारी गरिएको सन्देशमा उल्लेख गरिएको छ।

वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने उहाँले अपेक्षा लिनुभएको छ ।

Loading...