नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर, ऋण ६३ हजार ३१० रुपैयाँ

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । हरेक नेपालीको भागमा ऋण भने ६३ हजार ३१० रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।

यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।

अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

फागुनसम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ । यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ ।

Loading...