इराकमा चलेको बालुवाको आँधीले हजार बढी अस्पताल भर्ना

एजेन्सी । इराकमा बालुवाको आँधी आउँदा १ हजार जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन् । बालुवाको आँधीका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि १ हजार भन्दा धेरै अस्पताल भर्ना भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

राजधानी बगदाद र पश्चिममा रहेको अनबरसहित इराकका १८ मध्ये ६ प्रान्त बालुवाको आँधीबाट प्रभावित भएको जनाइएको छ ।

अनबर प्रान्तमा मात्रै श्वास प्रश्वासमा समस्या देखिएका ७ सय जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारी अनस कइसलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । त्यस्तै, सलाहद्दिन प्रान्तमा अरु ३ सय जना अस्पताल भर्ना भएका छन् ।

यसबाहेक दिवानिया, नजाफ र अन्य केही प्रान्तमा पनि सयौँ मानिसहरु अस्पताल भर्ना भएको जनाइएको छ ।

पछिल्लो महिनामा इराकमा आएको यो सातौँ बालुवाको आँधी हो । बिहीबार सबेरै इराकको विशाल क्षेत्रमा चलेको तीव्र हावाले मरुभूमिबाट बालुवा उडाएको र यसबाट आकाश नै बालुवाले ढाकिदिएको अल जजीराले जनाएको छ ।

अनबर र किर्कुक प्रान्तका अधिकारीहरुले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेका छन् ।

Loading...