महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाई हुँदैछ । मन्त्रिपरिषद् बैठले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यहि वैशाख १९ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई हुने गरी सर्वोच्च अदालतले बुधबारका लागि पेशी तोकेको हो ।

आईजीपी नियुक्तिका विषयमा असन्तुष्ट अर्का एआईजी सहकुलबहादुर थापा भने काममा फर्किन सहमत हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिनुभएको छ । आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा हुनुभएको थियो ।

सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजीमा बढुवा हुनुभएको हो । आईजीपी सिंह र रवीन्द्रबहादुर धानुक १ महिनाअघि एआईजीमा बढुवा हुनुभएको थियो । आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा हुनुभएको थियो । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गर्नुभएको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजीमा बढुवा हुनुभएको हो ।

२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरिएको थियो ।

Loading...