काठमाडौं । निर्वाचन आयोगले तीन स्थानीय तहका निर्वाचन अधिकृत परिवर्तन गरेको छ । आयोगले बाजुराको बुढीगंगा गाउँपालिका, रौतहटको मौलापुर गाउँपालिका र महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएको आयोगले जनाएको छ ।
बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको आयोगस्रोतले बतायो ।
आयोगका एक अधिकृतका अनुसार पछि खोजतलास गर्दा उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका थिए । उनको मदिरा सेवन गरेको अवस्थाको फोटो सहित आयोगमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको आयोग स्रोत बताउँछ ।
‘उहाँलाई हामीले जिम्मेवारीबाट मुक्त गरेर अर्को निर्वाचन अधिकृत खटाएका छौं’ आयोग स्रोतले भन्यो, ‘कारवाहीका लागि न्याय सेवा आयोगमा सिफारिस गर्ने निर्णय भइसकेको छ ।’ सरकारी वकिल समूहमा रहेका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत प्रधानलाई पनि निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । गैरजिम्मेवार काम गरेको भनी आयोगले उनलाई हटाउनुका साथै उनको ठाउँमा विनोदकुमार दाहाललाई खटाएको छ ।
निर्वाचन चिह्न बाँड्ने दिनसम्म पनि उनले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न नसकेको आयोग स्रोतको भनाइ छ ।
‘निर्वाचन चिह्न प्रदान गर्ने दिनसम्म पनि उहाँले अन्तिम नामावली प्रकाशित नगरेको भेटियो’ आयोग स्रोतले भन्यो, ‘गैरजिम्मेवारपूर्ण रुपमा काम गरेको देखिएकाले जिम्मेवारीबाट हटाएर अर्को व्यवस्था गरेका हौं ।’
उनले बेरुजु नै नभएका एक उम्मेदवार विरुद्ध उजुरी परेकै आधारमा मनोनयन रद्द गर्ने निर्णय गरेका र उक्त निर्णय विवादित भएपछि उजुरी परेको आयोग स्रोतले बतायो ।
आयोगले रौटहटको मौलापुर नगरपालिकाका निर्वाचन अधिकृत डल्लुराम चौधरीको ठाउँमा पनि अर्को निर्वाचन अधिकृत खटाएको छ ।
साम्सीका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ ।