बालेन शाह अन्तराष्ट्रिय ठग होः केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले गम्भीर आरोप लगाएका छन् । आफ्नो अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आइरहने स्थापितले अर्का उम्मेदवार बालेन शाहलाई आफ्नो थर समेत ठगेको आरोप लगाएका हुन् । स्थापितको यो आरोपजनक अभिव्यक्तिलाई अराजनीतिक टिप्पणी भनेर सामाजिक सञ्जालमा आपत्ती जाइएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले उम्मेदवार स्थापितले बालेनलाई लक्षित गर्दै भने, ‘एउटा फुच्‍चे भन्‍ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ ।’

स्थापितले बालेन शाहले आफ्नो जातीय पहिचान लुकाएको पनि आरोप लगाउँदै भने, ‘‘म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’

स्थापितले बालेन शाहले जनतासँग आँखा जुधाएर हेर्न पनि नसकेको हुँदा कालो चस्मा लगाएको आरोप पनि लगाए ।

‘जहिले पनि चश्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत नै रहेनछ । युवाहरुसँग फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि ।’ स्थापितले भने ।

बालेन शाहलाई काठमाडौंको जनसंख्या कति छ भन्ने जानकारी पनि नभएको स्थापितले बताए । बालेनले ८० लाख जनसंख्या छ भनेको उल्लेख गर्दै स्थापितले काठमाडौं उपत्यका र बनेपासम्मको जनसंख्या जोड्दा ४० लाख हुने जिकिर गरे । उनले बालेन आफ्नो प्रतिस्पर्धी नै नभएको पनि बताए ।
‘फुच्चेफाच्चेको कुरै नगरौं, आ(आफै काटमार गर्छन्, रमाइलो गर्छन् उहाँहरुसँग मैले प्रतिस्पर्धा गर्नु छैन’ स्थापितले भने ।

Loading...