हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट मिनाकुमारी लामा

हेटौंडा । सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् ।

मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । भागबन्डाका आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् ।

हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष लामाको नाम सिफारिस भएको थियो । नेकपा एसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो ।

गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि प्रतिक्रिया दिँदै लामाले आफूले जित्ने दाबी गरिन् ।

‘म उपमेयर हुँदा नै धेरै महत्त्वपूर्ण काम गरिसकेको छु । राम्रो अनुभव बटुलिसकेको छु,’ उनले भनिन्, ‘अब मलाई मेयरमा अवसर आएको छ । गठबन्धनले मलाई पूर्ण रूपमा समर्थन गर्नेछ ।’ लामाले यसअघि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयर जितेकी थिइन् । एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेकी हुन् ।

Loading...