दिक्तेलमा प्रशोधन गरिएको पानी वितरण सुरु

खोटाङ । खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले प्रशोधित पानी वितरण सुरु गरेको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहित) रुपैयाँको लागतमा पुरा भएको आयोजनाले उपभोक्तालाई शुद्ध एवं मापदण्ड अनुसारको पानी वितरण सुरु गरेको हो ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराइएको रम्बाखोला माझखोला सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए ।

बढ्दो सहरीकरण र जनसंख्य वृद्धिका कारण दिक्तेलबजारमा पानीको समस्या निम्तिने खतरालाई मध्यनजर गर्दै दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर मापदण्ड अनुसारको गुणस्तरीय पानी वितरण गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थियो ।

Loading...