रुसविरुद्ध तत्काल कडा कदम चाल्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको जोड

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध कडा कदम चाल्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई अपिल गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनी नागरिकहरुको नरसंहार गरेको प्रमाण भेटिंदा पनि सुरक्षा परिषद्ले केही गर्न नसक्नु लाचारी भएको तर्क गर्नुभयो । सुरक्षा परिषद्को विद्यमान नियम कानुनमा संशोधन गरेर भएपनि रुसमाथि तत्काल कारबाही गर्नुपर्ने जेलेन्स्कीको भनाई छ ।

सम्बोधनकै क्रममा जेलेन्स्कीले युक्रेनको बुचा, इरपिन, डिमर्को, मरिपउल शहरमा युद्ध अपराधमा प्रमाण फेला परेको दावी गर्नुभयो । उहाँले राष्ट्रसंघीय सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रहरुले युक्रेनमा भएको नरसंहारलाई टुलुटुलु हेरेको आरोप लगाउँदै ती राष्ट्रहरु निकम्मा सावित भएको समेत बताउनुभयो ।
जेलेन्स्कीले संयुक्त राष्ट्र संंघ तमासा बनेको भन्दै सो संघ बन्द गर्न समेत सुझाव दिनुभयो । सम्बोधनकै क्रममा संयुक्त राष्ट्र संघका लागि रुसी राजदुत भासिली नेबेन्जियाले रुसी सेनाले सर्वसाधारण नागरिहकरुलाई लक्षित गरी आक्रमण नगरेको भन्दै आफुहरुमाथि झुठा आरोप लगइएको प्रतिक्रिया दिनुभयो ।