सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढल मुक्त गरिने

चैत १९,काठमाडौँ –  अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले  आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढल मुक्त गर्ने प्रतिबद्धता जनाइएको छ ।

समितिले भक्तपुरको नगरकोटमा शुक्रबार आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढल मुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका निकायको प्रतिनिधि सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराइएको छ ।

सो अवसरमा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले  पशुपति क्षेत्रसम्मको नदीलाई ढल मुक्त गर्न आवश्यक बजेटको समेत व्यवस्था हुने बताउदै  वाग्मतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर वाग्मती कार्ययोजना तयार पार्न गृहकार्य सुरु भएको जानकारी गराउनु भयो । 

कार्यक्रममा  आयोजना प्रमुख नवराज प्याकुरेल, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जन , समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा. माला खरेल र कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा. सुधा श्रेष्ठले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

Loading...