आफूमाथि बलात्कार भएको उजुरी विपरीत बयान बदल्दा ३ महिना कैद सजाय

चैत १८-        दैलेख जिल्ला अदालतले आफूमाथि बलात्कार भएको उजुरी विपरीत बयान बदल्दा एक महिलालाइ  ३ महिना कैद र पांच हजार रुपैया जरिचाना सजाय सुनाएको छ  । 

 जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीका अनुसार  न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्ताे सजाय गरेको छ । प्रहरीमा आफैले बलात्कार उजुरीको दिएका महिलाले अदालतमा  गाउँको रिसइबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको हो ।

अदालतले  राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ । 

झण्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दिपेन्द्र शाही बिरुद्द  उजुरी दिएकी थिइन् । बलात्कार घटना लगत्तै आरोपित फरार भएका थिए ।  सरकारी वकिल कार्यालयले १३ महिनापछि २०७८ जेठ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेस गरेको थियो । अभियोग दर्तापछि अदालतले म्याद जारी गरेपछि २०७८ मङ्सिर १५ गते अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको इजलासबाट थुनामा राख्ने आदेश अनुसार आरोपित शाही चार महिनादेखि जिल्ला कारागारमा थुनामा थिए । 

अदालतले सफाई दिएपछि  बलात्कारको आरोप लागेका शाहीलाई  कारागारबाट छुटेका छन् ।