चिनियाँ विदेशमन्त्रीको भ्रमणमा रसुवागढी र तातोपानी नाका सञ्चालनमा कुरा हुने एनसीसीएफएको विश्वास

काठमाडौं । नेपाल-चीन वाणिज्य मैत्री संघले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी ले आजदेखि गर्न लाग्नु भएको नेपाल भ्रमणको सिलसिलामा लामोसमयदेखि बन्द रहेका तातोपानी र रसुवागढी नाका अविलम्ब सञ्चालनका लागि छलफल हुने विश्वास व्यक्त गरेको छ ।

सो संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोना महामारीसँगै चीनसँगको नेपालका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द भएका छन्। ती नाकाहरु नियमित रुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने हजारौं व्यवसायीहरु नराम्ररी प्रभावित भएका छन्। ती नाकाहरु सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ । चिनियाँ विदेशमन्त्रीको यही भ्रमणका अवसरमा चीनसँग जोडिएका यी दुवै व्यापारिक नाका अविलम्व सञ्चालन गर्ने विषयमा ठोस छलफल हुनेछ र सहमती जुट्नेछ भन्ने हाम्रो विश्वास छ ।”

नेपाल र चीनबीच कोरोना महामारीसँगै बन्द रहेको हवाई सेवा सुचारु गर्ने विषयमा पनि दुवै देशका प्रतिनिधिहरुले छलफल गर्ने मैत्री संघले विश्वास व्यक्त गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, “कोरोना महामारीपछि चीनसँग लामो समयदेखि हवाई सेवा समेत बन्द रहेको छ । यसबाट चीनका बिभिन्न क्षेत्रमा रहेका नेपाली व्यापारीहरु समेत नराम्ररी प्रभावित भएका छन्। हवाई आवागमन बन्द भएका कारण नेपाली पर्यटन बजार पनि प्रभावित भएको छ । यो भ्रमणपछि चीन-नेपाल हवाई सेवा सूचारु भई दुई देशका जनताबीच सहज आवागमनको वातावरण सिर्जना हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।”

सो विज्ञप्तिमा बीआरआई परियोजना अन्तर्गतका विकास आयोजनाहरुको व्यवहारिक कार्यान्वयनको लागि समेत छलफल हुने विश्वास मैत्री संघले गरेको छ । विदेशमन्त्री वाङ यीको भ्रमणले दुवै देशबीचको सम्बन्ध अझ वलियो हुने ठहर पनि मैत्री संघले गरेको छ । साथै साझा हित र चासोका विविध विषयमा दुवै पक्षले गहन छलफल गर्ने विश्वास समेत वाणिज्य मैत्री संघको रहेको छ ।

 

Loading...