होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा १३सय भन्दा बढि ट्राफिक प्रहरी खटाईने

चैत २,काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले  होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा १३सय भन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ ।  होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरिलागिएको  हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन सबै ट्राफिक ईकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई आज बुधबार व्रिफिङ्ग समेत गर्नु भएको छ ।

“फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतिहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ ।” एसएसपी उमेश राज जोशीले भन्नुभयो, “बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।”
उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।
महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरु गर्ने भएको छ ।
फागु पूर्णिमा (होली) को शुभकामना सहित दुर्घटना रहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।