पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गर्नुस , बिजुलीको खपत बढाउनुस : मंत्री भुषाल

                                                                  फाइल फोटो 

चैत १, काठमाडौँ   ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गरि बिजुलीको खपत बढाउन आग्रह गर्नु भएको छ  । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेशनको आज उद्घाटन कार्येक्रममा मंत्री भुषालले सो आग्रह गर्नु भएको हो  । 

हाँले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी बिजुली खपत बढाउन आग्रह गर्नुभयो । 

तराई तथा मधेस क्षेत्रमा सिँचाइमा बिजुली खपतको प्रचुर सम्भावनालाइ ध्यानमा राखी सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भन्नु भयो  ‘अहिले हामी वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, बिजुलीको प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, खेत बाँझाे नराखौँ’, उहाँले भन्नुभयो, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र देशभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौँ ।’

कार्यक्रममा सर्लाहीका सङ्घीय सांसद प्रमोदकुमार साहले यस क्षेत्रका सबस्टेशनबाट बिजुली आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय बिजुली पाउन थालेको बताउनुभयो ।

यसै गरि ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताउनुभयो । सरकारले महसुल घटाएकाले बिजुली चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

पावर टेक भारत र वाइबा इन्फ्राटेक नेपालको संयुक्त उपक्रम (जेभी) ले सबस्टेशन निर्माणको ठेक्का पाएको सबस्टेशनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको भएपनि कोभिड–१९ को महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिलाभइ सम्पन्न भएको छ  ।