म्यादी प्रहरी भर्नाका लागि चार अर्ब बजेट स्वीकृत, एक साता भित्र दरखास्त मागिने

फागुन ३० ,काठमाडौँ  । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार अर्थ मन्त्रालयले  एक लाख म्यादी प्रहरीकालागि चार अर्ब ३९ करोड बजेट स्वीकृत भएको छ  । 
प्रहरी प्रधान कार्यालयले भने सो संख्या बढाएर  एक लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।
 निर्वाचन शान्ति सुरक्षाका लागि  एक साताभित्र दरआस्त आह्वान गर्नेगरी तयारी भएको र  सेवा अवधि ४० दिन रहने  प्रवक्ता एवं उपरिक्षक  केसीले बताउनुभयो ।
म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपियाँ र रासन बापत सात हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । साथै छ हजार बराबरको लत्ता कपडा, एक हजार गाडी भाडा पाउनेछन् । म्यादी प्रहरीले तलब, भत्ता र रासन जोडेर करिब साढे ४४ हजार पाउँछन् । म्यादी प्रहरी वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।
म्यादी प्रहरी भर्नाको आह्वानका लागि गोरखापत्र दैनिक र नेपाल प्रहरीको वेबसाइटमा सूचना प्रकाशित गरिने प्रवक्ता केसीले जानकारी दिनुभयो ।
भर्नाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पूर्व प्रहरी, नेनाबाट निवृत्त भएका वा जागिर छोडेका मानिसहरुलाई प्राथमिकतामा रहेका छन् । स्थानीय तह निर्वाचन आगामी वर्षको वैशाख ३० गते हुँदै छ ।