फागुन ३०,काठमाडौँ। नेपाली श्रमिकलाइ कोरियामा रोजगारको अवसर दिन रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला गरेको छ। दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६ सय ५४ नेपाली रोजगारीका लागि लैजाने योजना बमोजिम ईपीएस कोरिया शाखाले आज सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
भाषा परीक्षामा सहभागी हुन चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ। परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण गरिनुका साथ आवेदन फारम शुल्क अमेरिकी डलर २४ तोकिएको छ ।
आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुने छ, भने यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुने शाखाले जनाएको छ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ।
यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ।
श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुन सक्ने शाखाले भनेको छ।