देउवा जसरी पनि एमसीसी पारित गर्न लागेपछि प्रचण्डले आफ्ना मन्त्री फिर्ता बोलाउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न अघि बढेपछि सरकार साझेदार दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन मार्फत आजै सरकारबाट बाहिरिने जानकारी गराएका हुन् ।

केही दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग मिलेर एमसीसी पारित गर्ने तयारीमा थिए । प्रचण्डले एमसीसी पारित गर्न हतार नगर्न देउवालाई सुझाव दिँदै आएका थिए । पाँच राजनीतिक दलको गठबन्धनबाट देउवाको नेतृत्व वर्तमान सरकार बनेको हो । गठबन्धन सरकारमा नेपाली कांग्रेसवाहेक अरु चार दल एमसीसीलाई पारित गर्न नहुने अडानमा छन् ।

प्रचण्ड नेतृत्वको दल नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले एमसीसी यथास्थितिमा पारित गर्न नसकिने र एमसीसी सम्झौतालाई पूरै संशोधन गर्नुपर्ने अडान लिएका छन् । एमसीसी पारित गर्न गठबन्धनको साथ नपाएपछि अन्तिममा आएर देउवाले प्रमुख प्रतिपक्षी देल नेकपा एमालेसँग मिलेर एमसीसी पारित गर्ने तयारी गरेपछि माओवादी केन्द्रले देउवालाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता गर्ने तयारी गरेका हुन् ।

प्रचण्डले सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन् । देउवाले ओलीसँग छलफल गरेर प्रचण्डसँग भेटने तयारी गरेका छन् ।

प्रचण्ड र देउवाले केही समय अघि अमेरिकालाई एमसीसीका बारेमा पत्र लेखेका थिए । एमसीसीका बारेमा धेरै छलफल गर्नुपर्ने र राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि समय आवश्यक पर्ने पत्रमा उल्लेख गरेका थिए । पत्रमा मागिएको समयसीमा कटेपछि पनि माओवादी केन्द्रले एमसीसीमा सहमति नजनाएपछि देउवा नेतृत्वको नेपाली कांग्रेसले उक्त पत्र सार्वजनिक गरेको थियो । उक्त पत्र सार्वजनिक गरिएपछि र देउवा एमसीसी पारित गर्न लागेपछि प्रचण्ड निकै रिसाएका छन् । उनले देउवा जसरी पनि एमसीसी पारित गर्न लागेको भन्दै अब देउवालाई साथ दिन नसकिने बताएका छन् ।

Loading...