बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे द्वारा सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक

 माघ २१, हेटौडा  । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमार्फत  गठबन्धन सरकार बनेको एक सय दिनमा गरेका उपलब्धिहरूलाई  सार्वजनिक गर्नुभएको हो ।

मुख्य मन्त्री पाण्डेले सार्वजनिक गर्नु भएको  उपलब्धिको पहिलो बुँदामा नै प्रदेश सरकारको आर्थिक रूपान्तरण गर्न, नागरिकलाई सरल र सहज गुणस्तरीय सेवा वृद्धि गरेको दाबी गरिएको छ ।

त्यस्तैगरी, मकवानपुर, चितवन र धादिङका चेपाङको राष्ट्रिय पर्व न्वागीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको बिषय उल्लेख छ ।  चेपाङ समुदायलाई सम्मान गरेर प्रदेश सरकारमा पनि सहभागी गराएको र सो समुदायको सम्मानको लागि दिएको बिदा पनि आफूहरुको उपलब्धि भएको उहाको भनाइ रहेको छ ।

बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको तथा  विगतमा जस्तोसुकै योजनालाई पनि बहुवर्षीय योजनाको रुपमा राख्ने गरेकाले आफूहरुले त्यसलाई व्यवस्थित बनाउन मापदण्ड तय गरिएको छ  ।

मन्त्री पाण्डेले आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशको स्थायी बासिन्दालाई निःशुल्क रक्तसञ्चार उपलब्ध गराउने सरकारको निर्णय गरिएको विषयलाई पनि महत्वपूर्ण उपलब्धि भन्नु भयो ।  प्रदेशमा ५७ अर्ब बजेट रहेको भन्दै सरकारले गरेका कार्यक्रमहरु खर्च नहुने बजेटहरुबाट रकमान्तर गरेर कार्य सम्पन्न गर्ने उहाले बताउनु भयो ।