बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाइ कारबाही गर्न पत्रकार महासंघको माग

 

 

माघ २१, काठमाडौँ –  नेपाल पत्रकार महासंघले झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ।

अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ झापा शाखाले जनाएको छ।

महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए।

महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्तिमा भनिएको छ,-  ‘कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ’ महासंघले भनेको छ, ‘यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो।’