काठमाडौँ, १८ माघ । महानगरीय ट्राफिक महाशाखाले दुबै मृगौला फेल भई उपचारार्थ प्रहरी जवान मधु खत्रीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीनलाख सतहत्तर हजार पाँचसय नब्बे रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरिएको हो ।
गुल्मी जिल्लाको ईस्मा वडा नं ४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फूर्त रुपमा सहयोग रकम संकलन गरेका हुन ।
दुबै मृगौलाले काम गर्न छोडेपछि नेपाल प्रहरी लगायतका अस्पतालहरुमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कदै गएको छ । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि हामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।
उनले जीवन बचाउने यस्तो पुण्यकार्यको लागी संकलित सम्पुर्ण रकम प्रहरी जवान खत्रीको श्रीमति ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको समेत जानकारी दिए ।