‘विश्वकप छनोट भए नेपाललाई ठूलो अवसर प्राप्त हुनेछ’

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अहिलेको अवस्थामा आईसीसी टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनु ठूलो कार्य बताएका छन् ।

जुम मिटिङमार्फत पत्रकारसँगको अन्तरक्रियाको क्रममा दासानायकेले विश्वकपमा पुगे नेपाली क्रिकेटका लागि ठूलो अवसर प्राप्त हुने बताए ।

‘हाम्रो लागि अहिलेको अवस्थामा विश्वकपसम्म पुग्नु ठूलो कार्य हो । विश्वकपमा पुग्यो भने यसले नेपाली क्रिकेटलाई माथि उचाल्ने काम गर्छ । प्रतियोगिताहरु हुनेछन् , अभ्यास हुनेछ, विश्वकपमा सहभागी हुनेछौ, र जुन टिम हामीसँग छ त्यसले विश्वकपमा पनि राम्रो गर्न सक्छ,’ दासानायकेले बताए ।

दासानायकेका अनुसार ओमानमा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी योजना अनुसार नै गइरहेको छ ।

‘जुन समयमा म नेपाली टिममा आए छनोट प्रतियोगिताको लागि छोटो समय थियो । तर हामीसँग भएको समयमा राम्ररी सदुपयोग गरिरहेका छौ । हाम्रो अन्तिम तयारी ओमानमा हुनेछ,’ दासानायकेले थपे । उनका अनुसार नेपाल राम्रो बाटोमा गइरहेको छ र टिममा राम्रो गर्ने आत्मविश्वास जागेको छ ।

नेपालले ग्लोबल छनोट अघि ओमानमा आयोजक ओमान, आयरल्यान्ड र युएईविरुद्ध सिरिजसमेत खेल्ने तालिका रहेको छ । जसलाई दासानायकेले एक चुनौतीको रुपमा लिएका छन् ।

‘हामीले धेरै खेल खेल्ने अवसर प्राप्त गर्नेछौ । सिरिजका क्रममा हामी फरक फरक योजना तयार गर्नेछौ तथा छनोटका लागि चाहिने उत्कृष्ट टिम बनाउनेछौ,’ उनले थपे ।

दासानायकेका अनुसार नेपालले विगत दुई तीन महिनामा बलिया टोलीविरुद्ध नखेलेका कारण छनोट अघिको सिरिजले राम्रो अवसर प्रदान गर्नेछ ।

मुख्य प्रशिक्षाक दासानायकेले लोकेश बम र विवेक यादव ग्लोबल छनोटमा अवसर प्राप्त गर्ने समेत बताए ।

‘उनीहरु धेरै प्रतिभाशाली छन् र उनीहरुलाई टिममा राख्न पाउदा खुसी छु । टिमको कम्बिनेसन हेर्नेछु र उनीहरुलाई मौका प्रदान गर्नेछु । उनीहरु नेपालको टी–ट्वान्टीका भविष्य हुन्,’ उनले थपे ।

दासानायकेले अहिले केही खेलाडीहरु कोभिडका कारण अभ्यासमा उपलब्ध नभएपनि केही दिनमै उनीहरु टिममा फर्किने विश्वास व्यक्त गरे ।

‘टिमको तयारी राम्रो छ । सबैले कडा मेहनत गरिरहेका छन् । तर कोभिडका कारण केही खेलाडीहरुले अभ्यास गुमाउन पुगेका छन् । तर आशा छ केही दिनमा टिममा सबै जना उपलब्ध हुनेछन् ।’

उनले नेपाली टोलीले अहिले बलिङमा विशेष मेहनत गरिरहेको र अहिले ६० प्रतिशत जति तयारी गरिसकेको हुनाले थप ३० प्रतिशतसम्म तयारी गर्नुपर्ने जनाए ।

‘अहिलेको मेरो उदेश्य भनेको हामीसंग भएको कुराबाट राम्रो नतिजा ल्याउनु हो ।’

Loading...