शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं, १६ माघ ।  शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनु भएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् ।

शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले शहीद दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिंड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना ब्यक्त गर्नुभएको छ ।

वि.सं. २००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२÷६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

Loading...