अमेरिकामा हिमपात, ५ राज्यमा आपतकाल

काठमाडौं, १६ माघ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् ।

अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ ।

नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटर ९दुई फिट०सम्म हिउँ जमेको थियो । साथै म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । म्यासाचुसेट्सको सबैभन्दा नराम्रोसँग केप कोड प्रभावित भएको छ ।

यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका छ । यो चिसो हावा समुद्रको तातो हावासँग मिसिने र वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित हुने अनुमान छ । यसो हुँदा ‘बम्ब साइक्लोन’ आउने बताइएको छ । विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ ।

बोस्टनको राष्ट्रिय मौसम सेवाले अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन सूचित गरेको छ । ‘यदि तपाईंलाई यात्रा गर्नै पर्ने छ भने चिसोबाट जोगिने सामान राख्नुस् । यदि बाटैमा फस्नु भयो भने गाडि भित्रै रहनुस्,’ सूचनामा भनिएको छ ।

सन् २०१६ मा अमेरिकाको पूर्वी क्षेत्रमा यस्तै आँधी आउँदा कम्तिमा १७ जनाको मृत्यु भएको थियो भने ११ राज्यमा आपतकाल घोषणा गरिएको थियो । साढे आठ करोड मानिस प्रभावित भएका थिए । अमेरिकाको एक सय वर्षको इतिहासकै शक्तिशाली भनिएको उक्त आँधीलाई ‘स्नोजिला’ नाम दिइएको थियो ।

Loading...