दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका

 

दार्चुला, ११ माघ । दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा टोली खटिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर घटना स्थलको अध्ययन गरी टोली फर्किएको डीएसपी भट्टले बताए ।

शव दार्चुला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा ल्याएर पोस्टमार्टम गरी आफन्तले दाहसंस्कार गरिसकेका छन् । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तले छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् ।

घटनाबारे जानकारी दिँदै दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले भने, ‘मृतकले ६ गते राती स्थानीय एउटा पसलमा मदिरा खाएको बुझिएको छ । बाहिरबाट हेर्दा आखिभौँमा चोट लागेको छ । हत्या भए नभएको बारे पोस्टमार्टम रिपोट आएपछि थाहा हुन्छ ।’

घटनाको छानबिनका लागि प्रहरीले स्थानीयहरूसँग सोधपुछ गरिरहेको छ । शव एक जना स्थानीयको घर नजिकै फेला परेको बताइएको छ ।

ब्यास गाउँपालिकामा स्थानीय मदिरा खुला रूपमा बिक्री वितरण हुने गरेकाले पछिल्लो समय झैँ झगडा तथा हिंसाजन्य घटनाहरू बढ्दै गइरहेका छन् ।

Loading...