कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

 

काठमाडौं, ९ माघ । काठमाडौंको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडर प्रविन राईको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका हुन् । राइडर राई उदयपुर गाइघाट निवासी हुन् ।

लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे नेतृत्वको टोलीले आरोपीहरुलाई मोटरसाइकल बेच्न लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ वर्षीय सुमन तामाङ र मीनराज राई रहेका छन् ।

गएराति १२ बजे तामाङ कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथी मीनराजलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । धापाखेलस्थित एकान्त ठाउँमा लगेपछि आरोपीहरुले राइडरको हातखुट्टा डोरीले र मुखमा टेप बाँधेर बोल्न नसक्ने बनाएर छाडेका थिए ।

बन्धक बनाएर उनीहरुले राइडर राईको साथमा रहेको ८ हजार नगद, मोटरसाइकल , मोबाइल, मोटरसाइकलको ब्लुबुक लुटेका थिए । पक्राउ परेका तामाङ र राईबाट लुटिएका सामान बरामद गरी पीडित राईलाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

Loading...