कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर । सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् ।

कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३ सय र ५ सय रुपैयाँका दरले टिकट काटेर बसिरहेका थिए । कलाकार यादवलाई विराटनगरमा रोकिएको बताइएको छ ।

उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका थिए । उनीहरुले स्टेज र कुर्सीहरू समेत तोडफोड गर्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी परिचालन गरिएको जनाइएको छ । सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सव सञ्चालन गरिएको थियो ।

मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रम गर्न रोक लगाएको थियो । तर, आयोजकले प्रशासनको निर्देशनलाई लत्याउँदै महोत्सव जारी राखेकाले सो घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।

Loading...