हिउँ पन्छाएपछि खुल्यो त्रिभुवन राजपथ

पुस १६,काठमाडौँ  । मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा भएको बाक्लो हिमपातपछि अवरुद्ध त्रिभुवन राजपथ बिहीबार साँझबाट नियमित सञ्चालन भएको छ । बुधबार बिहानदेखि त्यस क्षेत्रमा भएको बाक्लो हिमपातका कारण त्रिभुवन राजपथ भएर आवतजावत गर्ने सवारीका साधन ठप्प थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिमपातपछि दामन–सिमभञ्ज्याङ क्षेत्रको सडकमा हिउँ पन्छाएपछि बिहीबार साँझबाट सवारीसाधन सञ्चालनमा आएको जनाएको छ । बुधबार दिउँसो हावा चलेका कारण हिउँ पर्न छाडे पनि राति पुनः हिमपात भएका कारण राजपथ सञ्चालन गर्न समस्या भएको थियो ।प्रहरीका अनुसार सडकमा जमेको हिउँ थाहा नगरपालिकाको समन्वयमा पन्छाइएको हो ।

भीमफेदी गाउँपालिकाको अघोरदेखि थाहा नगरपालिकाको सिमभञ्ज्याङ क्षेत्रको करिब १० किलोमिटर दूरीसम्म सडकमा हिउँ जमेको थियो । सडकका हिउँ जमेपछि हेटौँडाबाट गएका सवारीसाधन अघोरमा र काठमाडौँलगायत जिल्लाको उत्तरी क्षेत्रबाट आउने सवारीका साधन पालुङमा रोकिएका थिए ।

हिमपातपछि अघोर, सिमभञ्ज्याङ, दामनलगायतका क्षेत्रको डाँडाकाँडा, बोटबिरुवा र घर तथा अन्य सार्वजनिक संरचनाका छाना सेताम्य भएको छ । हरेको वर्षजसो हिमपात हुने गरेको यस क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । हिउँ परेको हेर्न र हिउँ खेल्न जाने स्थानीय एवं आन्तरिक पर्यटकको सङ्ख्या बिहीबार बढेको छ । वर्षा र हिमपातका कारण थाहा नगर र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको छ ।

 

 

 

गोरखापत्र अनलाइन बात  

Loading...