एमसीसी राष्ट्रघाती छैन, छिट्टै पास हुन्छः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुको विकल्प नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताए ।

‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो । मैले पढ्दा त कतै राष्ट्रघात देखिनँ त’, देउवाले भने ।

उनले आफू राष्ट्रिय र प्रजातन्त्रका लागि संघर्ष गरेर आएको प्रधानमन्त्री भएकोले राष्ट्रघाती सम्झौता हनु नदिनेमा सचेत रहेको समेत उल्लेख गरे ।

‘राष्ट्रियता र प्रजातन्त्रका लागि लडेर आएको मान्छे मै हुँ । मै प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौला त रु एमसीसी राष्ट्रघाती छदै छैन । सित्तैमा आको पैसा पनि लिन्न भन्ने हो त ?’, उनले भने ।

देउवाले विश्व बैंक र एडिबीजस्ता निकायले ऋण लिँदासमेत अन्तर्राष्ट्रिय कानून आकर्षित हुने गरेको स्मरण गराउँदै एमसीसीले अनुदानमा रकम दिने र नेपालकै कानून लागु हुने बताए । उनले दलहरुबीच एमसीसीबारे छलफल भइरहेको भन्दै सहमतिमै एमसीसी पारित गर्ने बताए ।

देउवाले नेपालमा संविधानसभाको एजेण्डा ब्यूताउँन र संविधान बनाउना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

फरक सन्दर्भमा देउवाले पाँच दलको गठबन्धन कसैका विरुद्ध नभएको बताए । उनले गठबन्धन पूरा समय टिक्ने र आवश्यक परे अझै अगाडिसम्म जाने बताए ।

‘गठबन्धन कसैको विरुद्ध होइन । हामी मिल्न त पाइन्छ नि । गठबन्धन पुरै समय टिक्छ । अझ म त चाहन्छु अझ अगाडिसम्मै मिलेर जानुपर्छ’, देउवाले भने ।

Loading...