प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच एकता

काठमाडौं । प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपालबीच एकता भएको छ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा भएको एक औपचारिक समारोहमा दुई संगठनबीच एकता घोषणा भएको हो ।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी शक्तिहरु एकठाउँमा आउनुको विकल्प नभएको बताए । उनले कहि न कहि पार्टीले कमजोरी गरेकै कारण विभिन्न समस्या आएको र पार्टी टुटफुट हुन पुगेको भन्दै अब आफूले त्यसको गहिरो समीक्षा गरेर सबै परिवर्तनकारी शक्तिहरुलाई समेटेर अगाडि बढ्ने बताए । उनले क्रान्त्रिकारी पत्रकार संगठन ध्रुविकरणको बाटोमा आएकोमा खुसी व्यक्त गरे । 

प्रचण्डले भने,‘भोलिदेखि सुरु हुन लागेको सम्मेलनमा आफ्नो पार्टीमा भए गरेका गल्ति कमजोरीको हामी घनिभुत रुपमा समिक्षा गर्छौ । कहाँनिर बिचारमा, कहा विधि र कहाँ प्रक्रियामा हामीले त्रुटी गर्यौ त्यसको आत्मसमिक्षा गर्छौ । आत्मसमिक्षा म आफैबाट सुरु गर्दैछु ।’

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका पूर्व अध्यक्षसमेत रहेका संगठनका सल्लाहकार प्रभात चलाउनेले जनयुद्धले स्थापित गरेका एजेण्डा र जनयुद्धले नेपाली समाजमा ल्याएका परिवर्तनलाई रक्षा गर्न परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । परिवर्तनकारी आन्दोलनको नेतृत्व र एजेण्डालाई कमजोर पार्ने विभिन्न षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले सबै शक्तिलाई एकै ठाउँमा नल्याएर आन्दोलनको सपना पुरा नहुने निष्कर्षसहित एकताको पक्षमा उभिएको बताए । जनयुद्धले स्थापित गरेको एजेण्डालाई पुर्णता दिन लागि छुट्टीएर तथा एक्लिएर नभई सँगै गएर मात्र सम्भव हुने निष्कर्षसहित ध्रुविकरणको पक्षमा उभिएको बताए ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका सल्लाहकार एवम संगठनका पूर्व उपाध्यक्ष दिपेन्द्र रावलले दुवै संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्ती पढेर सुनाएका थिए । उनले बैज्ञानिक समाजवादी आन्दोलनमा लाग्ने गरी प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठन एकता गर्न सहमत भएको बताए ।

एकता कार्यक्रम सम्पन्न भएलगत्तै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष दिपबहादुर घर्तीद्धारा संयुक्त रुपमा हस्ताक्षरित तीन बुदेँ विज्ञप्ती सार्वजनिक गरिएको छ ।

Loading...