देशको लागि दशलाख घण्टा श्रमदान गर्ने “ मिलियन आवर च्यालेन्ज ” शुभारम्भ

 

पुष ७ , काभ्रे | दैनिक पन्ध्रसय युवाहरु श्रमको खोजीमा विदेशी रहेको आजको अवस्थामा केही युवाहरुको समूहले भने देशको लागि दश लाख घण्टा श्रमदान गरी समाज परिवर्तन गर्न सकिन्छ भन्ने अठोत सहित “मिलियन आवर च्यालेन्ज” अभियानको पहिलो संस्करण “देशको लागि एक दिन” भन्ने नारा सहित शुरुवात गरेका छन् । दश लाख घण्टाको सामूहिक श्रमदान लक्ष्य राखेको यस अभियानले पहिलो दिनमै चार सय घण्टा बराबरको श्रमदान प्राप्त गरेको छ ।
काठमाडौंबाट एक सय कि.मी.को यात्रा गरी, टेन्ट र स्पिपिङ्ग ब्यागको बन्दोबस्त सहित सय जना युवाहरुको समूह काभ्रे जिल्लाको विकट गाँउ चौरी देउराली गाउँपालिका स्थित नाग्रे गर्गचे पुगेको थियो । उक्त समूहलाई चर्चित ¥यापर निर्णय श्रेष्ठ, पर्यटन व्यवसायी विजय खड्का र समाजसेवी सुमन लामाले सामूहिक रुपमा नेतृत्व गरेको थियो ।
साँझ अबेर पुगेका स्वयंसेवकहरुलाई वडाअध्यक्ष दिनेश लामा र स्थानियहरुले स्वागत गरेका थिए । सेफ्स एशोसियसन अफ नेपालका अध्यक्ष श्याम लामाको नेतृत्वमा रहेका ६ जना वरिष्ठ सेफहरुले श्रमदान दिई स्वयंसेवकहरुलाई खाना पकाएर खुवाएका थिए । अन्तर्राष्ट्रिय योगगुरु डा. चिन्तामणि गौतमले स्वयंसेवकहरुलाई योगा प्रशिक्षण गराएपछि स्वयंसेवक समूहहरु विविध कार्यहरुमा खटिएका थिए । स्वयंसेवकहरुले प्राथमिक विद्यालय, डे केयर सेन्टर, चौतारा आदिमा सरसफाई तथा रंग रोगन गरेका थिए ।
स्वयंसेवीहरुको समूहलाई प्रोत्साहन र शुभकामना व्यक्त गर्न बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय रत्न ढकाल स्वंमसेवकहरु खटिएको स्थलमा पुगेका
थिए ।
आगामी कार्यक्रमहरु बारे चाँडैनै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने आयोजक विजय खड्काले बताएका छन् ।

Loading...